कौसी खेती प्रबर्द्वन मेला भव्य रुपमा सम्पन्न

Oh no the image is broken

काठमाडौ : कौसी खेती सम्बन्धी प्रविधिको प्रबर्द्वन गर्ने उद्देश्यले भक्तपुरको दुई पोखरीमा आयोजना गरिएको कौसी खेती प्रबद्र्वन मेला सम्पन्न भएको छ । युएन, ह्याबिट्याटको सहयोगमा मध्यपुर थिमि नगरपालिका तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको कौसी खेती प्रबर्द्वन मेलामा २३ वटा स्टल राखिएका थिए ।

कौसी खेती मेलामा विभिन्न समूहले कौसीमा फलाएका हरिया तरकारी, कृषि उपज, माटो बिनै तरकारी फलाउने हाइड्रोपोनिक प्रविधि, आकाशेपानी संकलन र फोहोरपानीको प्रयोग सम्बन्धी प्रविधि, फोहोरमैलाबाट मल बनाउने विधि तथा विभिन्न औजारहरु प्रदर्शन गरिएका थिए ।

कौसी खेती प्रबर्द्वन मेलाले एक आपसमा ज्ञानको प्रसार हुने र प्रविधि हस्तान्तरण हुने भएकाले कौसी खेती पारखीहरुका लागि अति उत्तम भएको सहभागीहरु बताउँछन् ।कौसी खेती प्रबर्द्वन मेलाको उदघाटन गर्दै मेलाका प्रमुख अतिथी राधिका शाक्यले आफूले पनि कौसी खेती सुरु गरेको जानकारी गराउँदै नगरपालिका तथा गाउँपालिकाहरुले कौसी खेती देशैभरि सन्चालन गर्न सकेको खण्डमा बाहिरबाट तरकारी आयात गर्नु नपर्ने बताउनुभयो । यसले शहरको हरियाली प्रबर्द्वनमा समेत मद्दत पुग्ने उहाँको भनाइ छ ।

कौसी खेती प्रबर्द्वन मेलामा मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बढ्दो शहरीकरणले गर्दा खेतीयोग्य जमिन समेत घरैघरले भरिदै गएकाले कौसी खेतीलाई बैकल्पिक खेतीको रुपमा प्रबर्द्वन गरिने बताउनुभयो ।

कार्यक्रममा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का कार्यकारी निर्देशक भावना शर्माले फोहोर पानी र कुहिने फोहोर व्यवस्थापनका लागि कौसी खेती उत्तम विकल्प हुने बताउनुभयो । कौसी खेती प्रबर्द्वन मेला कौसी खेतीका प्रविधिहरुको प्रबर्द्वनका लागि आयोजना गरिएको बताउनुभयो ।


यस्तै युएन, ह्याबिट्याटका कार्यक्रम संयोजक प्रज्ञा प्रधानले कौसी खेतीबाट आयआर्जन गर्न थालेको, स्वस्थ ताजा खानेकुरा प्रदान गरेको र शहरी प्रदुषत समेत घटाएको बताउनुभयो । कार्यक्रममा सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले कौसी खेती थोरै रकमले पनि आत्मनिर्भर हुन सकिने भएकाले यसमा मिहेनत गर्नुपर्नेमा जोड दिनुभयो ।

कौसी खेती प्रबर्द्वन मेला, थिमी नगरपालिका भित्रका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले समेत अवलोकन गरेका थिए । मेलाकै अवसरमा थिमी नगरपालिकाभित्र पार्क तथा हिटी निर्माण गर्ने अभियन्ताहरु, व्यवस्थित तरिकाले कौसी खेती गर्ने कृषकहरुलाई सम्मान गरिएको छ भने कौसी खेती तालिम सम्बन्धी प्रशिक्षक निर्देशिकाको समेत विमोचन गरिएको छ ।