News

सुन बेचेर चर्पी

Posted 21 February, 07:28 pm

21 Feb 2015- दिनेश खरेल

मलाई कमजोर भनेर हेपेको, एक्लो भनेर हेपेको ? म अब चर्पी बनाएर देखाउ“छु भनिदिए“ अनि चर्पी बनाउने अठोट गरें ।

१२ वर्षअघि हराएका सिन्धुपाल्चोक जिल्ला इर्खु गाविस दीपगाउँकी सुन्टी तामाङका श्रीमान् भक्तबहादुर तामाङ अझै घर फर्किएका छैनन् । २०५९ साल असार ३ गते घरमा सुन्टीलाई केही नभनी उनी हिँडेका थिए । घरमा सधैं सानतिनो झगडा भइरहन्थ्यो । कहिले भात नमीठो भन्थे, त कहिले अल्छिनी भनेर झपार्थे । ‘बिहे गर्नुअघि त घरमा भात मात्रै पकाइदिए पुग्छ भनेका थिए तर बिहेपछि रातदिन झगढा गर्थे, निहुँ खोच्थे,’ सुन्टीले भनिन्, ‘कुकुर र बिरालोको जस्तो थियो, हाम्रो सम्बन्ध ।’

सुन्टीको भनाइअनुसार १६ बर्से जवान हुँदा पनि बिहे गरिनन्, ३२ वर्षको हँुदा श्रीमान्ले बिहेको प्रस्ताव राखेपछि बिहे भयो । अहिले सुन्टीका ३ छोरी र १ छोरा छन्, निकै दुःखले हुर्काइन् । रातभरि रक्सी पारेर सो बेचेर खर्च जुटाउथिन् । ८ कक्षादेखि छोरो सधैं फस्र्ट हुन्थ्यो । एसएलसीमा पनि पास भयो । अहिले त सबै छोराछोरीको बिहे भइसक्यो । उनको विचारमा छोराछोरी दुवै अर्काको सम्पत्ति रहेछन्, किनकि छोरी बिहे गरेर अर्काको घर गई । छोरो पनि बिहे गरेपछि (पराइ) हुँदो रहेछ । ‘आमा भन्ने मेरो छोरो आजकाल मैसँग बोल्दैन, छोराबुहारी मसँग बस्दैनन्,’ ६४ वर्षीय सुन्टीले दुःखेसो पोखिन् । ‘छोरालाई दुःख गरेर पढाएँ । स्थिरमा भएको मेरो मन आज भीरमा पुगेको छ । यो उमेरमा एक्लै बस्नुपरेको छ,’ उनी भन्छिन्, ‘धेरै रोएँ बाबु, अब त आँसु पनि सकिसक्यो । मेरा बूढा कता गए, के भयो केही थाहा भएन ।’ अत्यन्तै भावुक हुँदै आँखाभरि आँसु बगाउँदै सुन्टीले भनिन, ‘आफ्नो शिरको फूललाई धेरै नै सम्झिन्छु । बिहानको घाम झुल्केको जस्तै झुलुक्क आफ्ना बूढा अगाडि आइदिए हुन्थ्यो नि †’

भैंसी पनि म¥यो । छोरो पनि भारत गयो । सबै खेतीपाती सबै आफ्नो टाउकोमा आइलाग्यो । २०७१ साल साउन १७ गते उनी गैह्रीबारीमा बिउ गोडेर बसिरहेकी थिइन् । गाउँमा ट्वाइलेट बनाउनुपर्छ भन्ने सरलाई लिएर उनका ज्वाइँ पर्ने आफन्त बारीमै आए । ‘५ नम्बरमा चर्पी नबनाउने यिनै बूढी हुन्, भने । उनलाई धेरै दुःख लाग्यो ।’ उनी भन्छिन्, ‘मलाई औंलाले देखाएर यही दिदी हो चर्पी नबनाउने भनेपछि त मलाई खपिखानु भएन ।’

घरमा पैसा छैन, कसरी चर्पी बनाउने, आफू एक्लो मान्छे खेतीको काम गर्नु कि चर्पी बनाउनु, कस्तो समस्या आइलाग्यो । गाउँका ज्वाइँ पर्नेलाइ भनिदिएँ, ‘मलाई कमजोर भनेर हेपेको, एक्लो भनेर हेपेको, म अब चर्पी बनाएर देखाउँछु ।’ भन्छिन्, ‘अनि चर्पी बनाउने अठोट गरे ।’

चर्पी बनाउदाको दुःख कम्ती थिएन । उनी बेलिविस्तार लाउँछिन्, ‘साउन मसान्तको दिन थियो, चौतारा गएँ, अनि आफूले लगाएको आधा सुन बेचें । त्यसबाट १३ हजार २ सय ५० रुपैयाँ आयो । अनि चर्पीका ढुंग्रा, नाला, सबै सामान ल्याएँ ।’ उनलाई त्यो रातभरि निन्द्रा लागेन । ‘सामान त ल्याएँ, तर कसले बनाइदिने मेरो चर्पी, अर्को चिन्ता थपियो । बनाउने मान्छे कहाँ खोज्ने भनेर धेरै चिन्ता लाग्यो अनि झट्ट मीतछोरालाई सम्झिएँ । एकाबिहानै मीतछोराकोमा गएर सके तिरौंला नसके थानकोट डाँडा काटेर जान्न, जसरी पनि चर्पी बनाउन लागेको खर्च तिर्छु,’ उनले सुनाइन् ।

‘त्यही दिनदेखि आफू पनि बालुवा बोक्न थालें । सिमेन्टको भारी आफैंले बोकें । भोलिपल्ट नै मीतछोराले पाँचजना काम गर्ने मान्छे लिएर आएछ । पाँच दिनमै चर्पी बन्यो । अनि जनैपूर्णे मनाइयो,’ उनी भन्छिन् । अहिले चर्पी बनेपछि धेरै सजिलो भएको, झिंगा कम आएको, सबैतिर सफा भएको उनको अनुभव छ । ‘पहिले–पहिले त दिसा गर्न बारी, झाङ, पाखा, खोला, कान्ला कहाँ–कहाँ पुगिएन र बाबु, जहाँ पुग्ने उहीं आगो फुक्ने भनेजस्तै थियो, अहिले भने गजब भएको छ,’ उनी विगत सुनाउँछिन् ।

उनले आफ्नो महिला समूहमा रहेका अन्य दिदीबहिनीलाई पनि चर्पी निर्माणमा साथ दिइन् । ‘मैले चर्पी बनाएपछि अरूलाई पनि चर्पी बनाउन सकिन्छ, आँट गर भनें,’ उनले सुनाइन, ‘म ६४ वर्षकी एक्ली मान्छेले त आफैं बालुवा, सिमेन्ट बोकेर चर्पी बनाएँ, तिमीहरूले किन बनाउन सक्दैनौं भनेर जोस्याएँ ।’ उनको अनुभव सुनेपछि माइला ससुराको कान्छी बुहारीले पनि चर्पी बनाइन् ।

दीप गाउँकै एकल महिला मनकुमारी तामाङले पनि सुन्टीकै प्रेरणामा चर्पी बनाइन् । तीन वर्षअघि उनका श्रीमान्को निधन भएपछि यी एकल महिलाले भैंसी बेचेर चर्पी बनाइन् । ‘सुन्टी दिदीले पनि चर्पी बनाइसक्नुभएको थियो । बनाउनुपर्छ भन्नुभयो । आखिर सुन्टी दिदी पनि मजस्तै दुःख पाएको दिदी, उहाँले त बनाउन सक्नुभयो भने म किन नसक्ने र भनी विचार गरें अनि भैंसी बेचेर आधा पैसाले चर्पी बनाएँ । आधा पैसाले फेरि सानो भैंसी किनेर ल्याएँ । अहिले हेर्नुस् न मेरो सानो भैंसी कति ठूलो भइसक्यो,’ खुसी हुँदै मनकुमारीले मुस्कान खोलिन् ।

सुन्टी र मनकुमारी तामाङ त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू बस्ने इर्खु गाविसको दीपगाउँका २६ ओटा घरमा सबैले ट्वाइलेट बनाइसकेका छन् । सबैका फरक–फरक काहानी र कथा छन् । दीपगाउँ मात्र होइन, ७ सय ६२ घरधुरी रहेको पूरै इर्खुको शतप्रतिशत जनताको घरमा शौचालय बनिसकेका छन् । सिन्धुपाल्चोक जिल्लामा करिब ६६ हजार ६ सय घरधुरी छन् । यसमध्ये करिब ९८ प्रतिशत घरमा शौचालय बनिसकेको छ । जिल्लाका ६८ गाविसमध्ये ५४ गाविसका सबै जनताको घरमा चर्पी बनेका छन् । दुईओटा नगरपालिका छन् । तर, नगरपालिका क्षेत्रमा भने सबैमा शौचालय बन्न सकेका छैनन् ।

नेपाल सरकार, यूएन ह्याबिट्याट लगायत अन्य सरोकारवाला संस्थाहरूको सहयोगमा शौचालय निर्माणको अभियानले तीव्रता पाएको छ । जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले ३० फागुन २०७१ मा एक भव्य समारोहको आयोजना गरेर पूरै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै छ । नेपालका २० ओटा जिल्लाले आफ्नो जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसकेका छन् । त्यस्तै, १९ ओटा नगरपालिका र करिब १७ सय गाविसले आफ्नो सेवा क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेका छन् ।

सन् २०१७ सम्म शतप्रतिशत नेपाली जनताको घरमा चर्पीको सुविधा पु¥याउने नेपालको राष्ट्रिय लक्ष्य रहेको यूएन ह्याबिट्याटका दक्षिण एसिया प्राविधिक सल्लाहकार भूषण तुलाधरले बताइन् । २०६८ को जनगणनाअनुसार ६२ प्रतिशत नेपालीको घरमा शौचालयको सुविधा छ । हाल करिब ७० प्रतिशत पुगेको अनुमान गरिएको छ । ३० प्रतिशत शौचालय दुई वर्षभित्र निर्माण गर्नु निकै नै चुनौतिपूर्ण कार्य देखिन्छ । खानेपानी तथा सरसफाइको राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला संस्थाहरूले सरसफाइ गुरुयोजनाको मर्म र भावनाअनुसार सही कार्यान्वयन गरी अघि बढ्न जरुरी देखिन्छ ।

Source: Rajdhani Daily, 21 Feb 2015