News

सर्फले दियो सुशिलालाई भर

Posted 9 December, 12:31 pm
२०७२ मङ्सिर २३ बुधबार | श्याम खतिवडा, दोलखा । दुई वर्ष पुग्नै लाग्यो शहरे गाविस वडा नं. ७ की शुसिला श्रेष्ठको एक्लो जीवन सुरु भएको । श्रीमानले अर्को विवाह गरेपछि अहिलेसम्म घरमा फर्किएका छैनन् । श्रीमानले छोडेको १ वर्ष नपुग्दै भुँईचालोले बसेको बास भत्काईदियो । भर भत्किएको १ वर्षमै घर भत्कियो । आर्थिक स्थिती डामाडोल भयो । कमाउने काम गर्नुपरेपछि ८ कक्षामा पढ्दापढ्दै गरेको एक्लो छोरो कृष्णले पढाई अगाडी बढाउन सकेन । ‘बाउले मति बिगारेपछी छोरोले घरखर्च जुटाउन पढाई छोडिदियो’, श्रेष्ठले छोरातिर हेरिन । कृष्ण कसैतिर नहेरी टहराभित्र पसे ।
पुरानो शैलीको खरले छाएको घर । विहे गरि ल्याँउदा यहि घरमा भित्रिएकी थिईन श्रेष्ठ । बुढाससुराले बनाएको घर भन्थे । त्यहि पनि नामोनिसान नरहने गरि भत्काईदियो भूकम्पले । यहि साउन महिनामा जेठी छोरी सीताको विवाह भयो । अलिअलि भएको रकम विहेमा सकियो । अलिकति भरथेग हुने छोरीको विहेपछि घरमा झनै आर्थिक संकट चुनियो । चर्पी चाहिन्छ भन्ने श्रेष्ठलाई नयाँ टहरा बनाउने बेलामै लागेको थियो । “खाल्डो खनेर सामान्य चर्पी बनाउने सोच बनाएको थें ।”
छोरीको विहे गरेपछि घरमा चर्पीको आवश्यकता अलि धेरै महशुस भयो । “ठाँउ साँघुरो भए एकै खाटमा सुतौं । भाँडा नभए एउटै थाल पखालेर खाना खाऔं भन्न हुने रैछ । तर चर्पीलाई केही भन्न नसकिने पो रैछ”, उनले चर्पी नहुँदा भोग्नुपरेको पिडा सुनाईन ।
कामको चटारोले श्रेष्ठलाई गाँउतिर निस्कन समय थिएन । एकदिन उनि घर नभएका दिनमा गाँउमा चर्पीको अनुगमन गर्नका लागि सामुदायिक विकास मञ्च(सिडिएफ)का सामाजिक सहजकर्ताहरु उनको घरमा पुगे । उनको गाविसमा भूकम्पबाट भत्किएका शौचालयहरु मर्मत गर्ने सर्फ परियोजना सिडिएफले युएन ह्याबिट्याटले सञ्चालन गर्न लागिरहेको थियो । “श्रेष्ठकोमा नयाँ शौचालय निर्माण गर्नूपर्ने देखियो । उहाँको अवस्था हेर्दा उहाँले सामाग्री सहयोग गर्दा काम गर्न सक्नुहोला जस्तो लागेन”, सामाजिक सहजकर्ता राजु खड्का भन्छन ।
सर्वेक्षणका बारेमा उनले गाँउमा सोधखोज गरिन । “सामाग्री पाएको १ हप्तामा नै चर्पी बनााउनु पर्ने रैछ । तिमीले सक्दिनौ भनेर हामीले नाम लेखाएनौं ।” गाँउलेको जवाफले उनलाई झनै चिन्ता थपियो । उनले यस काममा सहजिकरण गरिरहेको वडा नागरिक मञ्चका वडा संयोजक कृष्णगोपाल गौतमकोमा बुझ्न गईन । “नाम छुटेपछि थप्न सकिन्न । हेरौं केहि गर्न सकिएछ भने ।” गौतमको जवाफले उनी हिस्स परिन । मनमा सानो आशाको त्यान्द्रो पलायो ।
केही दिनपछि गाँउमा सामाग्री वितरण थालियो । उनले सामान लिएर आएका ट्रक हेरिन । “तै कतैबाट मिलिहाल्छ कि भनेर फेरी सामाजिक सहजकर्ता भेट्न गएँ ।” केहिदिनपछि सामाजिक सहजकर्ताले भने “एक हप्तामा काम सक्नुहुन्छ भने सामान दिन सकिन्छ ।” आफैंले किन्नुपर्ने सामान सहुलियतमा पाँउदा कसरी नगर्नु । “मंसिरमा धेरै मान्छे खेतको काममा थिए । एक हप्तामा बनाईसक्नुपर्छ भनेका थिए ४ दिनमा बनाई हालेँ ।” संस्थाले उनलाई ट्वाईलेट प्यान, पाईप र जस्ता सहयोग ग¥यो । स्थानिय सहजकर्ता शर्मिला चौंलागाँई भन्छिन “वडा नं. ८ का उद्धव खड्काले सामाग्री पाएर पनि काम गर्न आनाकानी गरे । वडा नागरिक मञ्चका सदस्यहरुसँग सल्लाह गर्दा काम नगर्ने खड्काबाट सामाग्री फिर्ता गरिश्रेष्ठलाई दिने भन्ने कुरा भएर उहाँलाई सामाग्री सहयोग गरिएको हो ।”
वडा नागरिक मञ्चका संयोजक कृष्णगोपाल गौतम उनले गरेको काम देखेर छक्कै परेका छन । “यति छिटै काम गरेर देखाउलिन भन्ने लागेकै थिएन ।” ६ सय ८२ घरधुरी रहेको शहरे गाविसमा ३ सय ६७ घरका शौचालय मर्मत तथा पुननिर्माणका लागि सहयोग गरिएको कार्यक्रम संयोजक अर्जुन दाहालले जानकारी दिए ।

– Source: http://www.hamrakura.com/news-details/1478/2015-12-09, Dec 9 2015