News

चिन्ता छैन जाडोको

Posted 22 November, 01:25 pm
भोटसिपा–५का रुद्रबहादुर थापा उमेरले ८२ पुगे। छोराहरुसँग छुट्टिएर बसेका उनी अहिले भने कान्छा छोराको अस्थायी आवासमा बसोबास गर्छन्। भूईंचालोमा पत्नी गुमाएका रुद्रका सबै छोराको घर बैशाख १२ गते ढलेपछि सपरिवार पालको आश्रय लिन पुग्यो। हिउँदको आगमनसँगै उनको परिवारले दाताको सहयोगमा अस्थायी आवास बनाएपछि अहिले रुद्रलाई जाडोको डर छैन।
‘केही समय एक्लै बसें,’ भुईंचालोले पत्नी गुमाएको पीडा पोख्दै उनले भने, ‘अहिले चिसो सुरु भएकाले छोरा बुहारीसँग बस्ने गरेको छु।’ उनले छोराले बनाएको अस्थायी आवासले जाडो छेक्ने भएकाले समस्या नभएको सुनाए। उनको छोरा एकबहादुरले हिउँद लक्षित
गरेर अस्थायी आवास बनाएका छन्। उनलाई यूएन ह्याविट्याटको आर्थिक तथा प्राविधिक सहयोगमा  सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च(सिडिइसिएफ)ले अस्थायी आवास बनाइदिएको हो।
अब फेरि भुईंचालो आएपनि डर छैन रुद्रबहादुरका परिवारलाई। उनी र उनको परिवार भुकम्प प्रतिरोधी अस्थायी आवासमा बस्ने गरेका छन्। उनका छोरा एकबहादुरले झण्डै तीन फिट उचाईमा पर्खाल लगाएर आकर्षक ‘सानो घर’ बनाएका छन्। रुद्रबहादुर बस्ने घरको पर्खालमाथि आकर्षक तरिकाले ‘बेम्बो’ राखिएको छ। रङ लगाइएको छ। पर्खालमाथि बाँसले बनाइएको ‘वाल’बाट चिसो पस्ने भएकाले भित्रबाट प्लाष्टिक राखिएकाले थापा परिवारलाई जाडोको चिन्ताले नसताएको हो। उनीहरुको अस्थायी आवास गाउँकै नमूना बनेको छ।
‘यूएन ह्याविट्याटको सहयोगमा सिडिइसिएफले २ वण्डल जस्ता र ७ हजार नगद दिएपछि अस्थायी आवास निर्माणमा सहयोग पुगेको हो,’ रुद्रका छोरा एकबहादुर भन्छन्, ‘दाताको सहयोगपछि झण्डै २० हजार रुपैयाँ खर्चियो।’ उनले आफ्नै मेहनतका कारण बृद्ध बुबा र अन्य परिवारलाई जाडोको समस्याबाट मुक्ति दिलाएको सुनाए। दाताले भोटसिपाका १ सय १ भुकम्पपीडित परिवारका लागि अस्थायी आवासमा सहयोग पुर्‍याएको थियो भोटसिपाका मृतक परिवार, एकल महिला र निम्न आयस्रोत भएका परिवारलाई सहयोग दिइएको हो।
त्यसो त इर्खु–५ का ७५ वर्षिय हरिबहादुर श्रेष्ठलाई पनि जाडोले सताउला भन्ने डर छैन। यूएन ह्याविट्याटको सहयोगमा जनहित ग्रामीण सेवा समितिले उनलाई जाडोबाट बच्ने प्रि–फम र चुल्हो दिएपनि उनलाई हिउँद कटाउन सहज हुने भएको हो। अघिल्लो साता स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले हरिबहादुरलाई २० मिटर प्रि–फर्म र चुल्हो हस्तान्तरण गरेका थिए। ‘यो फर्म लगेर जस्ताको मुनी हाल्नेछु,’ उनले सामग्री पाएपछि आफ्नो योजना सुनाए, ‘यस्तो गरेपछि जस्ताबाट आउने शीत यसले छेक्छ, अनि न्यानो हुन्छ।’ हरिबहादुरसहित इर्खुका ४५ परिवारलाई यूएन ह्याविट्याटको सहयोगमा जनहितले सामग्री बाँडेको थियो।
विशेष गरी इर्खु र कुविण्डेका भुकम्पपीडितका लागि सेल्टरलगायत अन्य क्षेत्रमा काम गरिरहेको जनहितले लक्षित वर्गलाई अस्थायी आवास बनाइदिएको छ। काठ र जस्ताको सहायताले भुकम्प प्रतिरोधी घर बनाइएको जनहितका कार्यक्रम संयोजक रुपकुमार विकले बताए। ‘भुईंचालोले पहिलेदेखि नै बस्दै आइरहेको घर भत्काएपछि कष्टकर दैनिकी बिताईरहेकालाई अहिले केही सहज भएको छ,’ रुपकुमार भन्छन्, ‘सेल्टर र जाडो छेक्ने सामग्रीले बृद्ध–बृद्धा, बालबच्चासहित सबैका लागि राम्रो व्यवस्था बन्यो।’ उनले पहिलो चरणमा ४५ परिवारलाई सामग्री बाँडेको जनाउँदै पछि सबैमा विस्तार गरिने योजना रहेको बताए।
यूएन ह्याविट्याटका इन्जिनियर राजनकुमार श्रेष्ठले भुकम्पपीडितका लागि जाडोमा न्यानो गराउने नयाँ डिजाइनको चुल्हो वितरण गरिएको बताए। ‘पहिला हामीले
डिजाइन गरेको अस्थायी आवास हिउँदका लागि उपयुक्त नभएको पायौं,’ राजनले भने, ‘जस्ताबाट शीत झर्ने भएकाले प्रि–फर्मको व्यवस्था गरिएको हो।’ उनले पहिला बनाएको जस्ताको सेल्टरको छानो मुनी भित्रबाट प्रि–फर्म राख्नुपर्ने सुझावसमेत दिए।
अहिले जिल्लाका केही गाउँमा सर्वसाधारणले फेरि ढुंगा माटाकै घर बनाउन सुरु गरेका छन्। उनीहरुले ढुंगा माटाकै भएपनि भुकम्प प्रतिरोधी घर बनाएको विभिन्न संघ संस्थाका प्राविधिकहरु बताउँछन्। यूएन ह्याविट्याटका इन्जिनियर राजनका अनुसार घरको कुनो मिलाएर बीचमा काठको बाक्लो फल्याक राखेर ढुंगा माटाकै घर बनाउँदा पनि केही हदमा सुरक्षित हुन्छ। ‘यसरी ढुंगा माटाको घर बनाउँदा पर्खालको चौडाई अनुसार कति अग्लोमा काठ राख्ने भन्ने प्राविधिक कुरा हुन्छ,’ उनले भने, ‘केही गरि भुईंचालो फेरि आएर बनाएको घर ढलिहालेमा पनि केही उचाईं मात्र ढल्छ।’ उनले जाडोका लागि यो घर उपयुक्त रहेकोसमेत बताए।
Source: http://setopati.com/samaj/36688/